काठमाडौं । नेपालका चार क्रिकेट खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को टी-ट्वान्टी वरीयतामा स्थान बनाएका छन् । आईसिसीले सोमबार सार्वजनिक गरेको वरीयताको शीर्ष सय भित्र नेपालका चार खेलाडी अटाएका हुन् ।
आईसिसीले जारी गरेको वरीयतामा ब्याटिङ र बलिङतर्फ नेपालका समान दुई दुई खेलाडी अटाएका छन् । वरीयतामा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषवाकर परेका छन् । कप्तान पारस २६५ अंकसहित ९० औं स्थानमा छन् । यस्तै २३८ अंकका साथ शरद ९८ औं स्थानमा रहेको छन् ।
बलिङतर्फ नेपालका बसन्त रेग्मी र सोमपाल कामी शीर्ष सय भित्र अटाएका छन् । बसन्त ३९७ अंक प्राप्त गर्दै ७१ औ स्थानमा रहेको छन् । चार नेपाली खेलाडीमध्ये बसन्त सबैभन्दा उच्च वरीयतामा रहन सफल भएका छन् । यस्तै ३३८ अंक जोडेका सोमपाल ९२ औं स्थानमा रहेका छन् ।
आईसिसीबाट एकदिवसीय र टी-ट्वान्टी मान्यता पाएलगत्तै नेपालका खेलाडी वरीयतामा प्रवेश गरेका हुन् । नेपालले दुईसाता अघि मात्र इंग्ल्यान्डको लर्डसमा नेदरल्याण्ड र एमसीसीबीच त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेको थियो ।
आईसिसीको टी-ट्वान्टी ब्याटिङ वरीयताको शीर्ष स्थानमा अष्ट्रेलियाका आरोन फिन्च रहेका छन् । दोस्रो स्थानमा पाकिस्तानका फकर जमान रहदा भारतका लोकेश राहुल तेस्रो, न्युजिल्याण्डका कोलिन मुन्द्रो चौथों र पाकिस्तानका बाबर आजम पाँचौं स्थानमा रहेका छन् ।
त्यस्तै बलिङतर्फ अफगानिस्तानका राशिद खान पहिलो स्थानमा रहदा पाकिस्तानका शदाब खान दोस्रो स्थानमा रहेका छन् । न्युजिल्याण्डका इश सोधी तेस्रो, भारतका युजभेन्द्र चाहल चौथों र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौं स्थानमा रहेका छन् ।
टी-ट्वान्टीको अलराउन्डरतर्फ अष्ट्रेलिया ग्लेन म्याक्सवेल शीर्ष स्थानमा रहदा अफगानिस्तानका मोहमद नाबी दोस्रो स्थानमा रहेका छन् । यस्तै बंगलादेशका शाकिब अल हसन तेस्रो, दक्षिण अफ्रीकाका जेपी दुमिनी चौथों र वेष्ट इण्डिजका मार्लोन सामुएल्स पाँचौ स्थानमा रहेका छन् ।