काठमाडौं । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ । बिहिबार भएको उद्घाटन खेलमा प्रदेश ५ लाई ६८ रनले पराजित गर्दै प्रदेश १ ले सुखद सुरुवात गरेको हो ।
इनरुवा रंगशालामा प्रदेश १ ले दिएको १ सय २१ रनको सामान्य लक्ष्य पछ्याएको प्रदेश ५ मात्र ५२ रन जोड्दा अलआउट भयो । उसका विराट भण्डारीले सर्वाधिक २८ रन बनाए । यस्तै विशाल बिक्रम केसीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रदेश ५ का ४ खेलाडी डक आउट भए ।
प्रदेश ५ लाई सस्तैमा समेट्न प्रदेश १ का दिपेश कंडेलले ६ विकेट हात पारे । मनोज तामाङ र मुकुन्द यादबले समान २/२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३१ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय २० रन बनाएको थियो। उसका फिर्दोश अन्सारीले २३ रन बनाए । यस्तै कप्तान पुष्प थापा र दिपेश कंडेलले समान २२/२२ रनको योगदान गरे ।
प्रदेश ५ का बिक्रम भुसालले ५ विकेट लिए । यस्तै दुर्गेश गुप्ताले २ तथा कृष्ण कार्की, जितेन्द्र शहनी र अनिल खरेलले समान १/१ विकेट हात पारे ।
खेलमा प्रदेश १ का दिपेश प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार प्रदेश ५ र प्रदेश ३ बीच खेल हुनेछ ।
इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको आयोजनामा जारी प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले ३०-३० हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।