काठमाडौं । एसियन गेम्स र साफ च्याम्पियनसिपको तयारीको लागि थाइल्याण्डमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आज (मंगलबार) पहिलो अभ्यास खेल खेल्दै छ । १० दिने विशेष प्रशिक्षणमा रहेको नेपालले स्थानीय क्लबसंग पहिलो अभ्यास खेल खेल्न लागेको हो ।
नेपालले पहिलो अभ्यास खेल पुलिस टेरो क्लबसंग खेल्दै छ । खेल बोनयाचिन्दा स्टेडियममा हुनेछ । यस्तै नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।
अभ्यास खेल र प्रशिक्षणको लागि नेपाली टोली शुक्रबार नै थाइल्याण्ड पुगिसकेको छ । साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई अभ्यासमा पठाएको हो ।
थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । र, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।
नेपालले एसियन गेम्सको पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसंग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ ।
यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।
थाइल्याण्डमा रहेको नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, एलेन न्यौपाने, सोजित गुरुङ, बिकेश कुथु
डिफेन्डर : आदित्य चौधरी, अनन्त तामाङ, बिराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौरब बुढाथोकी, कमल श्रेष्ठ, सुमन अर्याल, छिरिङ गुरुङ , रबिन श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ
मिडफिल्डर : अभिषेक रिजाल, अन्जन बिष्ट, बिशाल राई, हेमन गुरुङ, हेमन्त थामा मगर, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ
स्ट्राइकर : भरत खवास, बिमल घर्ति मगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ, सुमन लामा