काठमाडौं । दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको औपचारिक उद्घाटन भएको छ ।
सुनसरीको इनरुवा रंगशालामा मंगलबार एक कार्यक्रमबीच प्रतियोगिताको उद्घाटन गरिएको छ ।
प्रतियोगिताको औपचारिक उद्घाटन गरिएपनि प्रतियोगिताको खेलहरु बिहिबारबाट सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा समूह सीबाट प्रदेश १ र प्रदेश ५ भिड्ने छन् ।
इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको आयोजनामा हुने प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।
प्रतियोगितामा विभागीय टिमसहित प्रदेश र मलेसियाको मलेसिया-११ ले प्रतिस्पर्धा गर्ने छन् ।
तीन टिमले समूह चरणमा एक अर्कासंग खेल्ने छन् । समूह विजेता हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । समूह 'ए' को विजेताले समूह 'सी' सँग सेमिफाइनल खेल खेल्नेछ । यस्तै समूह 'बी' को विजेताले समूह 'डी' को विजेतासँग सेमिफाइनलमा खेल्नेछ । फाइनल खेल माघ ४ गते हुने छ ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले ३०-३० हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।