काठमाडौं । भारतले चार टोलीबीच हुने यू–१९ एकदिवसीय क्रिकेट सिरिज खेल्न नेपाललाई आमन्त्रण गरेको छ । भारतले दुई घरेलु टोली र अफगानिस्तान सम्मलित एकदिवसीय सिरिजको लागि नेपाललाई प्रस्ताब गरेको हो ।
नेपाली यू–१९ क्रिकेट टोलीका प्रशिक्षक बिनोद दासले युवा टोलीको क्षमता विकासको लागि भारतले हरेक बर्ष आयोजना गर्ने यो सिरिज खेल्न नेपाललाई प्रस्ताव गरेको खेलपाटीलाई बताए । प्रशिक्षक दासले खेलपाटीसंग भने, 'भारतले आयोजना गर्ने सिरिजको लागि हामीलाई पत्र आएको छ । खेल सेप्टेम्बरमा छ । सहभागिताबारे छलफल जारी छ ।'
कोलकातामा हुने सिरिजमा नेपालले सहभागिता जनाए नेपालसहित भारतको यू-१९ टोली, भारतकै नेसनल क्रिकेट एकेडमी (एनसीए) र अफगानीस्तानको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने छ । भारतले यो सिरिजको खेल तालिका समेत सार्वजनिक गरेको छ ।
भारतीय क्रिकेट बोर्ड (बिसिसीआई) ले सिरिजको लागि आमन्त्रण गरेपनि नेपालको सहभागिता भने टुंगो लागेको छैन । नेपाल अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) को अनुमति कुरेर बसेको छ । आईसिसीले मान्यता प्रदान गरे नेपालले सेप्टेम्बर ९ देखि २० सम्म आयोजना हुने सिरिज खेल्ने छ ।
नेपाली टोलीका प्रशिक्षक दासले सहभागिताबारे आईसिसीसंग छलफल चलिरहेको र केहि दिनमा निर्णय आउने बताए । 'हाम्रो तयारीबारे अहिले केहि भएको छैन । मुख्य त हामीलाई आईसिसीबाट अनुमति आउनु पर्छ । अनुमतिको प्रक्रिया अघि बढेको छ । केहि दिनमा टुंगो लाग्ने सम्भावना छ,' प्रशिक्षक दासले भने ।
आईसिसीबाट अनुमति पाएपछि तयारी र भ्रमणको खर्च आईसिसीबाट प्राप्त हुने र नेपाली टोलीको छनोट प्रक्रिया अघि बढाउने प्रशिक्षक दासले बताए । नेपाल क्रिकेट संघ क्यान निलम्बन भएबाट नेपाली क्रिकेटको सम्पूर्ण कार्य आईसिसी आफैले गर्दै आएको छ ।
सिरिजमा सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छ । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुनेछ ।
क्रिकट्राकर डटकमले जनाए अनुसार सिरिजको पहिलो खेलमा नेपालले सेप्टेम्बर १२ मा एनसीएसंग जादभपुर युनिभर्सिटीको मैदानमा खेल्ने छ । यस्तै सेप्टेम्बर १४ मा नेपालले भारतसंग इडेन गार्डेन्समा खेल्नेछ । नेपालले अन्तिम खेलमा अफगानिस्तानसंग सेप्टेम्बर १६ मा खेल्नेछ ।
भारतले यो सिरिजलाई यू-१९ एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप अक्टोबरमा बंगलादेशमा हुँदैछ । जसमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, हङकङ, बंगलादेश, युएई र अफगानिस्तान गरी ८ टोलीले खेल्ने छन् ।
गत बर्ष मलेसियामा आयोजना भएको यू–१९ एसिया कपमा नेपालले भारतलाई हराएर सनसनी मच्चाएको थियो । तर, नेपाल सेमिफाइनलमा अफगानिस्तानसंग पराजित भएको थियो ।