काठमाडौं । सन् २०१९ नेपाली क्रिकेटको लागि सम्झन लायक वर्ष रहयो । नेपालले यस वर्ष मैदानमा मात्र नभएर मैदान बाहिर समेत राम्रो सफलता हात पार्यो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले यसै वर्ष नेपालमाथि लगाएको निलम्बन सशर्त फुकुवा गर्यो । आईसीसीले साढे ३ वर्षबाट लगाएको निलम्बन गत असोजमा फुकुवा गरेको थियो ।
यस्तै लामो समयबाट नेतृत्वविहिन रहेको नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पायो । आईसीसीले बनाएको स्वतन्त्र कमिटिले चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । त्यस लगत्तै आईसीसीले नेपालको निलम्बन फुकुवा गरेको थियो ।
मैदान भित्र पनि नेपाली क्रिकेटलाई ठुलो सफलता मिल्यो । यस वर्ष नेपालले अन्य वर्षको तुलनामा सर्वाधिक खेल खेल्यो ।
पुरुष क्रिकेटमा नेपालले ३० अन्तर्राष्ट्रिय खेल खेल्यो । जसमा १९ टी-ट्वान्टी अन्तराष्ट्रिय, ३ एकदिवसीय अन्तराष्ट्रिय, १ पहिलो श्रेणीको क्रिकेट र अन्य ७ अन्तराष्ट्रिय क्रिकेट खेलेको छ ।
नेपालले खेलेको ३० खेलमा १६ जित र १४ हार व्यहोर्यो ।
वर्षको सुरुवात नेपालले युएईमा घरेलु टिमसँग सिरिज खेल्दै सुखद सुरुवात गरेको थियो । सन् २०१९ मा नेपालले पहिलो पटक टी-ट्वान्टी अन्तराष्ट्रिय र एकदिवसीय अन्तराष्ट्रिय सिरिज जित्दै इतिहास समेत रच्न सफल रहयो । युएईलाई उसैको भूमिमा नेपालले २-१ ले पराजित गर्दै एतिहासिक सिरिज हात पारेको थियो ।
यस्तै सिरिजमा नेपालले केहि कीर्तिमान समेत बनायो । तत्कालिन कप्तान पारस खड्काले एकदिवसीयमा शतक प्रहार गर्ने पहिलो नेपाली बने । यस्तै सिरिजमा नै नेपालका रोहित कुमार पौडेलले अर्धशतक पुरा गर्दा एकदिवसीयमा सबै भन्दा कम उमेरमा अर्धशतक पुरा गर्ने सचिन तेन्दुलकर र साहिद अफ्रिदीको कीर्तिमान भंग गरे । टी-ट्वान्टी अन्तराष्ट्रियमा समेत सन्दीप जोराले समेत अर्धशतक पुरा गर्दा टी-ट्वान्टी अन्तराष्ट्रियमा अर्धशतक पुरा गर्ने विश्वका युवा खेलाडी बने ।
यस्तै जुलाईमा नेपालले मलेसियाविरुद्धको सिरिजमा क्लिन स्विप गर्न सफल भयो । लगत्तै सिंगापुरमा टी-ट्वान्टी विश्वकप एसिया फाइनलमा कतार र सिंगापुरसँग पराजित हुँदा नेपालले दोस्रो पटक विश्वकप खेल्ने सपनामा पूर्णविराम लगायो ।
सिंगापुरमा टेष्ट राष्ट्र जिम्बाबेसहित घरेलु टिमसँगको सिरिजमा नेपालले ३ खेलमा १ जित मात्र निकाल्यो । तर, पारसले सिंगापुरविरुद्ध शतक प्रहार गर्दै टी-ट्वान्टी अन्तराष्ट्रियमा शतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी बने । उनले ५२ बलमा १ सय ६ रनको अविजित इनिङ्स खेलेका थिए ।
ओमानमा भएको ५ राष्ट्रविरुद्धको सिरिजमा नेपालले २ खेलमा जित र २ हार व्यहोर्यो । सिरिजमा नेपालका करण केसीले ११ विकेट हात पर्दै सम्झनलायक सिरिज बनाउन सफल रहे ।
विश्वको पुरानो तथा चर्चित क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) संग नेपालले पहिलो श्रेणीको क्रिकेट (फस्ट क्लास क्रिकेट) खेल्दै १४ वर्षको लामो खडेरी तोड्न सफल भयो । एमसीसीको नेपाल भ्रमणमा नेपालले ५० ओभरको खेल समेत खेलेको थियो । फस्ट क्लास क्रिकेटमा अपरिपक्को देखेको नेपालले ५० ओभरको खेलमा भने सहज जित निकालेको थियो ।
बंगलादेशमा भएको एसीसी इमर्जिङ कपमा नेपालको लागि सुखद रहेन । भारत र बंगलादेशको युवा टिमसँग पराजित भएको नेपालले हङकङमाथि मात्र जित निकाल्यो ।
अन्तिममा नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा कास्य पदक जित्दै सन् २०१९ को सुखद अन्त्य गर्यो । प्रतियोगिता अन्तर्गत नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध १ सय ७ रन बनाउँदै नेपालको लागि टी-ट्वान्टी अन्तराष्ट्रियको एकै इनिङसमा सर्वाधिक रन बनाउने खेलाडी बने ।
महिला क्रिकेटतर्फ नेपालले निकै लामो समयपछी नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्यो । थाईल्याण्डमा भएको टी ट्वान्टी स्म्यासमा नेपाल फाइनलमा आयोजकसंग पराजित भयो । लगत्तै नेपालले टी-ट्वान्टी विश्वकप छनोटमा थाइल्याण्डसंग पराजित हुँदै पहिलो पटक विश्वकप खेल्ने सपना पुरा गर्न सकेन ।
तर, पहिलो सहभागिताको सागमा नेपालले एतिहासिक कास्य पदक जित्न सफल भयो । स्वर्ण पदकको लक्ष्यमा रहेको नेपाली टिमले टेष्ट राष्ट्रसामु निरिह देखिँदा कास्यमा चित्त बुझेको थियो ।
साग क्रिकेटमा नेपालकी अन्जली चन्दले विश्व कीर्तिमान समेत कायम गरिन् । पहिलो खेलमा माल्दिभ्सविरुद्ध कुनै रन नखर्ची ६ विकेट लिँदै अन्जलीले विश्व कीर्तिमान बनाएकी थिइन् ।
अन्जलीले २ ओभर १ बलमा बिना रन खर्चेर ६ विकेट लिएर कीर्तिमान बनाइन् । यसअघि टी-ट्वान्टी अन्तराष्ट्रिय महिला क्रिकेटमा मलेसियाकी मास एलसाको नाममा ६ विकेट लिएर ३ रन खर्चेको रेकर्ड रहेको थियो ।
घरेलु लिगमा नेपालको पुरुष क्रिकेटमा यसपटक नियमित रह्यो । सदाझैं हुने लिगले घरेलु क्रिकेट चल्यो । महिलातर्फ भने पहिलो पटक फ्रेन्चाइज लिगको आगमनले नयाँ अध्याएको सुरुवात भएको छ । महिलाको फ्रेन्चाईज क्रिकेट लिग 'वुमन्स च्याम्पियन्स लिग' को आगमनसंगै नेपाली महिला क्रिकेटले थप उचाई पाउने विश्वास सबैको रहेको छ ।
विश्वमा यस वर्ष टी ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीमा नेपालका सन्दीप लामिछाने र करण केसीले शीर्ष दुई स्थान कब्जा गरे । यस्तै टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने कप्तानमा समेत नेपालका पारस र ज्ञानेन्द्र मात्र रहे ।
सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा पारस सातौँ र ज्ञानेन्द्र ३४ औं स्थानमा रहन सफल भए । पारसले १८ खेलमा १ शतक र ३ अर्धशतक सहित यस वर्ष ५ सय ४१ रन बनाए । ज्ञानेन्द्रले १२ खेलमा १ शतक र १ अर्धशतक सहित यस वर्ष ३ सय १९ रन बनाए ।
नेपालले खेलेको टी-ट्वान्टी अन्तराष्ट्रिय
खेल : १९
जित : १२
हार : ७
नेपालले खेलेको एकदिवसीय अन्तराष्ट्रिय
खेल : ३
जित : २
हार : १