काठमाडौं । मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि प्रदेश ३ को खेलाडी छनोटमा जिल्ला क्रिकेट संघ काठमाडौंले आपत्ति जनाएको छ ।
प्रतियोगिताको लागि ३ नम्बर प्रादेशिक क्रिकेट संघले मनोमानी ढंगले खेलाडी छनोट गरेको भन्दै काठमाडौंले असन्तुष्टि जनाएको हो ।
जिल्ला क्रिकेट संघ काठमाडौंका अध्यक्ष अमितवीर पाण्डेले प्रादेशिक क्रिकेट संघले खेलाडी छनोटको लागि औपचारिक पत्र समेत नपठाएको बताए ।
'मौखिक रुपमा ३ जना खेलाडी पठाइदिनु भनेर फोन आएको थियो,' अध्यक्ष पाण्डेले खेलपाटीसँग भने, 'लिखित रुपमा भने कुनै पत्र आएको छैन ।'
छनोट नगरी हचुवामा ३ खेलाडी पठाउन नमिल्ने भन्दै काठमाडौंले कुनै खेलाडी नपठाएको समेत उनले जानकारी गराए ।
'जिल्लाका खेलाडी ल्याएर छनोट गर्नु पर्छ भनेको थिए । तर बजेट छैन, समय पनि कम छ भन्दै प्रदेशले छनोट नै गरेन,' पाण्डेले थपे ।
काठमाडौंले खेलाडी नपठाएपनि प्रतियोगिताको लागि प्रदेश ३ ले सुवास खकुरेलको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरेको थियो । प्रदेश ३ प्रादेशिक क्रिकेट संघका अध्यक्ष राजु बस्नेतको नेतृत्वमा रहेको ७ जनाको छनोट कमिटीले प्रदेश टिम छनोट गरेको हो ।
प्रादेशिक क्रिकेट संघका अध्यक्ष बस्नेतले भने निरन्तर खेलिरहेका खेलाडीलाई समेटेर छनोट समितिले चितवनमा ३ दिनको छनोट क्याम्प राखेर खेलाडी छनोट गरिएको बताए ।
'निरन्तर खेलिरहेका खेलाडी र चितवनमा ३ दिनको छनोट क्याम राखेर छनोट गरिएको हो,' अध्यक्ष बस्नेतले भने, 'छनोट समिति मेरो नेतृत्वमा भएको थियो । मसंगै अन्य छ जनाको कमिटीले टिम छनोट गरेको हो ।'
समय कम भएको कारण जिल्लाबाट खेलाडी ल्याएर छनोट गर्न नसकिएको समेत बस्नेतले बताए ।
'छोटो समयमा प्रतियोगिता घोषणा भएको कारण सबै जिल्लाबाट खेलाडी छनोट गरेर ल्याउन सकिएन,' उनले थपे, 'नेपाली सिनियर टिम, यू-१९ टिम र प्रदेश स्तरीय खेलमा राम्रो प्रदर्शन गर्दै आएका खेलाडीलाई समेटेर टिम बनेको हो । अझै टिममा युवा प्रतिभा छुट्छ कि भनेर चितवनमा ३ दिनको छनोट क्याम गरिएको हो ।'
सुनसरीको इनरुवा रंगशालामा हुने प्रतियोगिता पुस १५ गतेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी १२ टिमलाई ४ समूहमा विभाजन गरिएको छ ।