एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) मा तेस्रो जित हात पारेको छ ।
सोमबार भएको खेलमा होबार्ट हुरुकेन्सलाई डीएल पद्दतिको आधारमा ४ रनले पराजित गर्दै मेलबर्नले तेस्रो जित निकालेको हो ।
वर्षाको कारण ११ ओभरमा छोट्टाइएको खेलमा हुरुकेन्सले मेलबर्नलाई जितका लागि ८० रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको मेलबर्नले ७ ओभर ३ बल ५ विकेट गुमाएर ५५ रन जोड्दा वर्षाले पुनः खेल रोकिदा डीएल पद्दतिमा मेलबर्नले ४ रनको जित निकालेको हो ।
मेलबर्नका मार्कस स्टोइनेसले सर्वाधिक २५ रन बनाए । यस्ती पिटर ह्यान्ड्सकम्बले अविजित २२ रन बनाए । होबार्टका जेम्स फौक्लनले २ तथा रिले मिरेडिथले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हुरिकेन्सले ११ ओभरमा ५ विकेट गुमाएर ६९ रन बनाएको थियो । तर, डिएल पद्दतिको आधारमा मेलबर्नले ८० रनको नयाँ लक्ष्य पाएको हो । उसका कलेब जेवेलले सर्वाधिक २६ रन बनाए । यस्तै कप्तान बेन मेक्डर्मटले १७ र सिमोन मिलेन्कोले १२ रनको योगदान गरे ।
मेलबर्नका डेल स्टेन र नाथन कुण्टर नाइलले समान २/२ विकेट लिए । सन्दीपले भने विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका उनले ११ रन खर्चिए । लिगमा सन्दीप पहिलो पटक विकेट विहीन भए ।
जितसँगै ४ खेलमा ३ जित हात पारेको मेलबर्न ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा रहेको छ । समान खेलमा २ जित हात पारेको होबार्ट तालिकाको पाचौं स्थानमा छ ।