एजेन्सी । चिलीका मिडफिल्डर अर्तुरो भिदालले धेरै उपाधि ट्रफी जित्ने लक्ष्यसहित स्पेनिस क्लब बार्सिलोना आएको बताएका छन् ।
बार्सिलोनासंग सम्झौता गरेपछि बोल्दै भिदालले बार्सिलोना आउनुको मुख्य उदेश्य उपाधि जित्नु रहेको बताएका हुन् ।
'यो एक सपना थियो । मलाई आशा छ म मेरो लक्ष्यहरु पुरा गर्ने छु,' ३१ बर्षीय भिदालले भने, 'म यहाँ प्राप्त गर्ने सबै ट्रफी जित्न आएको हु । र, म मैदानमा सबै दिनेछु ।'
स्पेनिस च्याम्पियन बार्सिलोनाले भिदाललाई जर्मन क्लब बायर्न म्युनिखबाट क्लबमा भित्र्याएको हो । मिडफिल्डर भिदालले बार्सिलोनासंग सोमबार तीन बर्षे सम्झौता गरेका छन् ।
बार्सिलोनाले सोमबार नै भिदाललाई सार्वजनिक समेत गरेको छ । भेट्रान मिडफिल्डर आन्द्रेस इनिष्टा र पाउलिन्होले क्लब छाडेपछि बार्सिलोनाले भिदाललाई क्लबमा भित्र्याएको हो ।
यस्तै भिदालले लियोनल मेस्सी, लुइस स्वारेज जस्ता खेलाडी रहेको बार्सिलोनाबाट खेल्न आफु उत्साहित रहेको बताए ।
'तीन बर्ष भित्रमा म सबै जित्नेमा आशावादी छु । म मेस्सी, स्वारेज,सर्जियो बुस्केटसंग खेल्न निकै उत्साहित छु । उनीहरु महान खेलाडी हुन्,' भिदालले भने ।
भिदाल सन् २०१५ मा इटालियन क्लब युभेन्ट्सबाट बायर्न आएका थिए । भिदालले बायर्नबाट तीन बुन्डेस लिगा, दुई जर्मन सुपर कप र एक जर्मन कप जितेका छन् ।
भिदालले चिलीका लागि १०० क्याप खेलेका छन् । चिलीले सन् २०१५ को कोपा अमेरिका जित्दा भिदाल महत्वपूर्ण खेलाडी थिए ।