एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम मेलबर्न स्टार्सलाई बिग बास लिग (बीबीएल) मा होबर्ट हुरिकेन्सले जितका लागि ८० रनको लक्ष्य दिएको छ ।
वर्षाको कारण ११ ओभरमा छोट्टाइएको खेलमा हुरिकेन्सले ५ विकेट गुमाएर ६९ रन बनायो । तर, डिएल पद्दतिको आधारमा मेलबर्नले ८० रनको नयाँ लक्ष्य पाएको हो । उसका कलेब जेवेलले सर्वाधिक २६ रन बनाए । यस्तै कप्तान बेन मेक्डर्मटले १७ र सिमोन मिलेन्कोले १२ रनको योगदान गरे ।
मेलबर्नका डेल स्टेन र नाथन कुण्टर नाइलले समान २/२ विकेट लिए । सन्दीपले भने विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका उनले ११ रन खर्चिए । जारि लिगमा सन्दीप पहिलो पटक विकेट विहीन भएका हुन् ।
तीन खेलमा दुई जित र एक हार व्यहोरेको मेलबर्न ४ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
समान खेलमा समान अंक भएपनि हुरिकेन्स नेटरनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।
यसै सिजनको पहिलो भेटमा मेलबर्नले हुरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो ।