काठमाडौं । टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा यस वर्ष सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका दुई खेलाडीले स्थान बनाएका छन् ।
सन् २०१९ मा टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने विश्वभरका शीर्ष पाँच खेलाडीमा नेपालका २ खेलाडी परेका हुन् ।
नेपालका ग्लोबल आइकन सन्दीप लामिछाने र करण केसी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा परेका छन् । सन्दीप र करणले सन् २०१९ मा समान २८/२८ विकेट लिएका छन् ।
शीर्ष स्थानमा रहेका सन्दीपले १६ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा २८ विकेट लिएका छन् । नेदरल्याण्डका ब्राण्डन ग्लोभर २८ विकेटसहित दोस्रो स्थानमा छन् । उनले १९ खेलमा २८ टी-ट्वान्टी अन्तराष्ट्रिय विकेट लिएका हुन् ।
यस्तै तेस्रो स्थानमा रहेका करणले १९ टी-ट्वान्टी अन्तराष्ट्रियमा २८ विकेट लिएका छन् ।
चौंथो स्थानमा आयरल्याण्डका मार्क अडेयर रहेका छन् । उनले १७ खेलमा २७ विकेट लिएका छन् । १८ खेलमा २७ विकेट लिएका नेदरल्याण्डका पाउल भान मेकेरिन रहेका छन् ।