काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटको चौथो खेलमा आज (सोमबार) होबर्ट हुरिकेन्ससँग प्रतिस्पर्धा गर्दैछ ।
मेलबर्नले नेपाली समय अनुसार दिउँसो १ बजेर ५५ मिनेटमा हुरिकेन्ससँग खेल्न लागेको हो ।
लिग चरणमा मेलबर्न र हुरिकेन्स दोस्रो पटक खेल्न लागेका हुन् ।
यसै सिजन मेलबर्नको दोस्रो खेलमा हुरिकेन्सलाई ५२ रनले पराजित गरेको थियो ।
तीन खेलमा दुई जित र एक हार ब्यहोरेको मेलबर्न ४ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।
समान खेलमा समान अंक भएपनि हुरिकेन्स नेटरनरेटको आधारमा पाँचौं स्थानमा रहेको छ ।
पहिलो दुई खेलमा जित निकालेको मेलबर्न अन्तिम खेलमा एडिलेइड स्ट्राइकर्ससंग पराजित भएको थियो ।
बीबीएलमा यस सिजन सन्दीपको प्रदर्शन औसत रहेको छ । उनले ७ दशमलब १० को इकोनमिमा ३ खेलमा ३ विकेट लिएका छन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा सन्दीप १९ औं स्थानमा रहेका छन् ।