काठमाडौं । भुटानमा आयोजना हुने साफ यू -१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालले उपाधि जित्ने लक्ष्य बनाएको छ । च्याम्पियनसिपको लागि नेपाली टोली मंगलबार भुटानतर्फ जाँदै छन् ।
भुटान जानुअघि नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले तयारी राम्रो रहेको कारण उपाधि जित्ने रहेको बताईन् । प्रशिक्षक गुरुङले खेलपाटीसंग भनिन्, ‘हाम्रो लक्ष्य भनेको साफ च्याम्पियन हुने हो । त्यसै अनुरुप तयारी पनि राम्रो भएको छ ।’
विगत २ महिनादेखि नेपालले तयारी गरिरहेको जानकारी दिदै उनले टिमवर्क गेम भएको र खेलाडीको मनोबल समेत उच्च रहेकोले नेपालको लक्ष्य उपाधि जित्ने रहेको प्रष्ट पारिन् ।
त्यस्तै, कप्तान प्रिति राईले समेत नेपाली टिमको पहिलो लक्ष्य भनेको च्याम्पियन बन्ने रहेको बताईन् । ‘टिमको तयारी एकदमै राम्रो छ । सबै जना फिट छौ । घर फर्किदा ट्रफी सहित नेपाल फर्किने छौ ।’ उनले भनिन् ।
भुटान जाने टिमलाई अखिल नेपाल फुटबल संघ एन्फाले आज बिदाई गरेको छ । प्रतियोगिता अगष्ट ९ देखि १९ सम्म भुटानमा हुदैछ ।
प्रतियोगिताका सबै खेल चालिमिथाङ मैदानमा हुनेछ । नेपालले पहिलो खेल अगष्ट ११ मा पाकिस्तानसंग खेल्नेछ ।
समूह चरणको दोस्रो खेलमा नेपालले अगष्ट १३ मा बङ्गलादेशसंग खेल्नेछ । समूहको दुई टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् ।