काठमाडौं । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को उपाधि जितेको छ ।
पोखरामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
उपाधिसँगै चितवनले २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्यो ।
पाेखरा क्रिकेट मैदानमा चितवनले दिएको २ सय ३ रनको फराकिलो लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन मात्र बनाउन सक्याे ।
विराटनगरका मोहमद जैद आलमले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
यस्तै कप्तान प्रदिप सिंह ऐरीले ३६, पुनित मेहेराले ३२ र नोमान खानले १८ रन बनाए ।
चितवनका करण केसीले ३ तथा सन्नी पटेलले २ विकेट लिए । यस्तै रोहन मुस्तफाले १ विकेट हात पारे ।
यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनाएको थियो ।
चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले ।
दुवै ब्याट्सम्यानले समान ५०/५० रन बनाए । यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे ।
विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २/२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।
चितवन दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
गत संस्करणमा भने चितवन घरेलु टोली पोखरा पल्टनसंग पराजित भएको थियो ।
पीपीएल उपाधिसंगै पारसले नेपालमा हुने तीनवटै फ्रेन्चाइज क्रिकेटको उपाधी जित्न सफल भएका छन् ।
यसअघि उनको कप्तानीमा रहेको टिमले एभरेष्ट प्रिमियर लिग र धनगढी प्रिमियर लिगको उपाधि उचालेका थिए ।