काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा चितवन राइनोजले विराटनगर टाइटन्सलाई जितका लागि २ सय ३ रनको फराकिलो लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो ।
चितवनको फराकिलो स्कोरमा अनिल कुमार शाह र रोहन मुस्तफाले अर्धशतकिय इनिङ्स खेले । दुवै ब्याट्सम्यानले समान ५०/५० रन बनाए ।
यस्तै कप्तान पारस खड्काले २५, आरिफ शेखले १९, सन्नी पटेलले १६ र करण केसीले २६ रनको योगदान गरे ।
विराटनगरका पुनित मेहेराले र जैद आलमले समान २/२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
अनुभबी खेलाडी तथा पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम पनि हो ।
यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
जारी लिगमा चितवन अपराजित रहेको छ । अपराजित यात्रालाई निरन्तरता दिंदै उपाधि उचाल्ने लक्ष्यमा चितवन रहेको छ ।
यस्तै लिग चरणको हारको बदला फाइनलमा लिने दाउमा विराटनगर रहेको छ ।