एजेन्सी । इंग्ल्यान्डका पूर्वकप्तान माइकल भोनले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले निकाल्ने वरीयताको आलोचना गरेका छन् ।
माइकलले आईसीसीको वरीयता निराधार भएको भन्दै वरीयता ‘बकवास’ रहेको बताएका हुन् ।
एक पत्रिकासँग कुरा गर्दै माइकलले आईसीसीको वरीयता प्रति आफू इमानदार भएको तर यसलाई पूर्ण रुपमा विश्वास गर्न नसकिने बताए ।
‘मलाई लाग्छ यो पूरै बकवास छ । मलाई थाहा छैन् लिष्ट कसरी बनेको छ । न्युजिल्याण्ड र इंग्ल्यान्डले दुई वर्षबाट टेष्टमा खराब प्रदर्शन गरेका छन् । तर, न्युजिल्याण्ड दुई नम्बरमा र इंग्ल्यान्ड चौथो नम्बरमा छ,’ उनले भने ।
यस्तै माइकलले अष्ट्रेलियाको अहिलेको टिम भारतले मात्र चुनौती दिन सक्ने बताए ।
‘अहिले अष्ट्रेलियालाई उसको घरमा भारतले मात्र चुनौती दिन सक्छ,’ माइकलले थपे ।
भारतीय टिममा अहिले उत्कृष्ट ब्याट्सम्यान, स्पिनर र अनुभवी बलरहरु रहेको माइकलको भनाई छ ।
‘भारत र अष्ट्रेलिया संसारकै सबैभन्दा राम्रो टिम मानिन्छन् । यसमा कुनै शंका छैन् । यसको बाबजुद पनि अष्ट्रेलिया पाँचौ नम्बरमा छ ।’
आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा भारत शीर्ष स्थानमा रहदा अष्ट्रेलिया पाँचौ स्थानमा रहेको छ । यस्तै न्युजिल्यान्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो र इंग्ल्यान्ड चौंथो स्थानमा रहेका छन् ।