काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।
अनुभबी खेलाडी तथा पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल खेलेको टिम पनि हो ।
यता, पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरीको विराटनगर गत संस्करण पुछारमा रहँदै प्रतियोगिताको अन्त्य गरेको थियो ।
पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप फाईनल भिडन्तलाई लिएर निकै उत्साहित छन् ।
पछिल्लो खेलमा समातेको लयलाई विराटनगरले फाईनल खेलमा निरन्तरता दिन चाहेको कप्तान ऐरी बताउँछन् ।
’जुन गति पछिल्लो खेलमा पाएका छौं, त्यसैलाई निरन्तरता दिने प्रयास हुनेछ ।’ फाइनलअघि उनले भनेका छन् ।
’सबैले राम्रो प्रयास गर्ने हो, जुन टिमले कम गल्ती गर्छ, उसैले जित्छ ।’ उनले थपेका छन् ।
यता, चितवनका कप्तान पारस खड्का गत संस्करणमा समेत फाइनल खेलेका कारण यसपटक अघि बढ्ने लक्ष्य लिएको बताउँछन् ।
’अन्तिम पटक पनि फाइनल खेलेको हो, त्यसैले यसपटक अघि बढ्ने लक्ष्य छ ।’ पारसले भने, ’सहज भने छैन, विराटनगर राम्रो लयमा छ । लिग चरणमा समेत चितवनको लक्ष्य नजिक पुगेको थियो ।’
लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो ।
लिगमा अपराजित रहेको चितवन फाईनल खेलमा समेत सोही लयलाई निरन्तर दिने लक्ष्यमा छ ।
’अहिलेसम्म अपराजित छौं, अब पनि सोही लयलाई कायम राख्दै प्रतियोगिताको अन्त्य गर्न चाहान्छौं ।’ पारसले थपे ।
चालू संस्करणमा चितवन सुरुवात देखिनै उपाधि लक्ष्यमा दृढ देखिएको छ ।
तुलनात्मक हिसाबमा चितवन निकै बलियो छ । स्टार खेलाडी समावेश चितवन सन्तुलित देखिएको छ ।
चितवनको ब्याटिङ पक्ष बलियो रहेको छ । उसको तल्लो क्रमसम्मकै खेलाडी ब्याटिङ गर्न सक्ने क्षमता राख्छन् ।
चितवनले पहिले ब्याटिङ गरेमा ठुलो लक्ष्य दिने प्रयास गर्नेछ । दोस्रो ईनिङ्समा ब्याटिङ गरेमा सहजै लक्ष्य पुरा गर्ने कोशिश गर्नेछ । चितवन चालू संस्करणको एक मात्र अपराजित टिम हो ।
यस्तै, विराटनगरमा भने युवा खेलाडीको बाहुल्यता छ । नेट रनरेटको आधारमा इलिमिनेटर पुगेको विराटनगर पहिलो पटक पीपीएलको फाइनल पुगेको हो ।
पाँच खेलमा मात्र दुई जित हात पारेको विराटनगरले काठमाडौँ गोल्डेन र धनगढी ब्लुजलाई रनरेटमा पछि पारेको थियो । यस्तै उसले इलिमिनेटरमा बुटवल ब्लास्टरर्समाथि रोमाञ्चक २१ रनको जित निकालेको थियो ।
लिगको सुरुवाती खेलमा गति भेट्न नसकेको विराटनगर पछिल्लो समय उत्कृष्ट लयमा छ । उसले आवश्यकता अनुसारको खेल खेल्दै आएको छ ।
त्यसैले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सम्भावित प्लेङ ११ –
चितवन टाइगर्स : रोहण मुस्तफा, अनिल कुमार शाह, बाबर हायात, पारस खड्का, आरिफ शेख, सुन्नी पटेल, बिक्रम बुसाल, सुमित महर्जन, बुवन कार्की, कारण केसी र बिक्रम सोब ।
विराटनगर टाइटन्स : महोमद जैद आलम, सुनिल धमला, लोकेस बम, पुनित मेहेरा, प्रदिप सिंह ऐरी, नोमन खान, राजेश पुलामी मगर, पुष्प थापा, जितेन्द्र मुखिया, किश्वर महत्व र शाहाब आलम ।