काठमाडौं । भुटानमा आयोजना हुने यू-१५ महिला साफ च्याम्पियनसिपको लागि नेपाली टोली मंगलबार भुटान जाने भएका छन् ।
च्याम्पियनसिपको लागि २३ खेलाडीसहित ३२ सदसीय नेपाली टोली भुटान जानेछन् । नेपाली टोलीसंगै दुई रेफ्री त्यसतर्फ जानेछन् । भुटान जानेले फिफा रेफ्री अश्मिता मानन्धर र फिफा एसिस्टेन्ट रेफ्री बिना श्रेष्ठ रहेका छन् ।
भुटान जाने नेपाली महिला टोलीलाई सोमबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले विदाई गरेको छ । नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्रालयको सचिब मोहन कृष्ण थापा, एन्फा अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले विदाई गरे ।
अगष्ट ९ देखि १८ गतेसम्म भुटानको राजधानी थिम्पुमा हुने च्याम्पियनसिपमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा पाकिस्तान र बङ्गलादेश रहेका छन् ।
नेपालले पहिलो खेलमा पाकिस्तानसंग अगष्ट ११ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा बंगलादेशसंग अगष्ट १३ मा खेल्नेछ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
एन्फाले च्याम्पियनसिपको नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेको छ । नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन रहेका छन् ।
नेपाली टोली :
गोलकिपर – सावित्री किसान, पुजा थापा, करिना धिमाल
डिफेन्डर – खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर, सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, मनमाया परियार
मिडफिल्डर – प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल,
फरवार्ड – रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी, अनुष्का शेर्पा