काठमाडौँ । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि भाेली (शनिबार) चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ ।
अनुभबी खेलाडी तथा पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाइनलिस्ट टिम हो ।
यता पहिलो पटक फ्रेन्चाइज टिममा कप्तानी गरेका प्रदिप ऐरीको टिम विराटनगर भने गत संस्करणको पुछारमा रहेर प्रतियोगिता सकाएको थियो ।
पहिलो पटक फ्रेन्चाइज टिमको कप्तानी गरेका प्रदिप ऐरी निकै उत्साहित रहेका छन् ।
पछिल्लो खेलमा समातेको गतिलाई विराटनगरले निरन्तरता दिन चाहेको कप्तान ऐरी बताउँछन् ।
’जुन गति पछिल्लो खेलमा पाएका छौं, त्यसैलाई निरन्तरता दिने प्रयास हुनेछ ।’ फाइनलअघि उनले भने ।
’सबैले राम्रो प्रयास गर्ने हो, त्यो दिन जुन टिमले कम गल्ती गर्छ, उसैले जित्छ ।’ उनले थपे ।
गत संस्करणमा समेत फाइनल खेलेका कारण यसपटक अघि बढ्ने लक्ष्य लिएको चितवनका कप्तान पारस बताउँछन् ।
’अन्तिम पटक पनि फाइनल खेलेको हो, त्यसैले यसपटक अघि बढ्ने लक्ष्य छ ।’ पारसले भने, ’सहज भने छैन, विराटनगर राम्रो लयमा छ । लिग चरणमा समेत चितवनको लक्ष्य नजिक पुगेको थियो ।’
लिग चरणमा चितवनसंग विराटनगर १८ रनले पराजित भएको थियो ।
लिगमा अपराजित रहेको चितवन सोही लयलाई निरन्तर दिने लक्ष्यमा रहेको छ ।
’अहिलेसम्म अपराजित छौं, अब पनि सोही लयलाई कायम राख्दै प्रतियोगिताको अन्त्य गर्न चाहान्छौं ।’ पारसले थपे ।
चालू संस्करणमा चितवन सुरुवात देखिनै उपाधि लक्ष्यमा दृढ देखिएको छ ।
तुलनात्मक हिसाबमा चितवन निकै बलियो छ । सबै स्टार खेलाडी समावेश गरेको चितवन सन्तुलित देखिएको छ ।
यस संस्करणमा चितवनको ब्याटिङ पक्ष बलियो रहेको छ । उसको आठौँ–नवौं क्रमसम्म पनि ब्याटिङ गर्न सक्ने क्षमता भएका खेलाडी छन् ।
त्यसैले चितवनले पहिले ब्याटिङ गरेमा ठुलो लक्ष्य दिने प्रयासमा हुनेछ । दोस्रो ईनिङ्समा ब्याटिङ गरे सहजै लक्ष्य भेट्याउने प्रयासमा हुनेछ । चितवन चालू संस्करणको एक मात्र अपराजित टिम हो ।
यस्तै, विराटनगरमा भने युवा खेलाडीको बाहुल्यता छ । नेट रनरेटको आधारमा इलिमिनेटर पुगेको विराटनगर पहिलो पटक पीपीएलको फाइनल पुगेको हो ।
पाँच खेलमा मात्र दुई जित हात पारेको विराटनगर, काठमाडौँ गोल्डेन र धनगढी ब्लुजलाई रनरेटमा पछि पारेको थियो । यस्तै इलिमिनेटरमा बुटवल ब्लास्टरर्समाथि रोमाञ्चक २१ रनको जित निकालेको थियो ।
लिगको सुरुवाती खेलमा गति भेट्न नसकेको विराटनगर पछिल्लो समय उत्कृष्ट लयमा छ । उसले आवश्यकता अनुसारको खेल खेल्दै आएको छ । त्यसैले फाइनल खेल रोमाञ्चक हुने अपेक्षा गर्न सकिन्छ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ ।
सम्भावित प्लेङ ११ –
चितवन टाइगर्स : रोहण मुस्तफा, अनिल कुमार शाह, बाबर हायात, पारस खड्का, आरिफ शेख, सुन्नी पटेल, बिक्रम बुसाल, सुमित महर्जन, बुवन कार्की, कारण केसी र बिक्रम सोब ।
विराटनगर टाइटन्स : महोमद जैद आलम, सुनिल धमला, लोकेस बम, पुनित मेहेरा, प्रदिप सिंह ऐरी, नोमन खान, राजेश पुलामी मगर, पुष्प थापा, जितेन्द्र मुखिया, किश्वर महत्व र शाहाब आलम ।