काठमाडौं । नेपालमा फ्रेन्चाइज क्रिकेट भित्रिएको करिब चार वर्ष बित्दा तीन ठुला फ्रेन्चाइज लिगले राम्रो स्थान पाएका छन् ।
काठमाडौंमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल), धनगढीको धनगढी प्रिमियर लिग (डीपीएल) र पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) ले नेपाली टी-ट्वान्टी क्रिकेटमा उचाई थप्दै आएका छन् ।
हरेक संस्करणमा तीन ठुला लिगले केहि न केहि नयाँ गर्दै आएका छन् । खेलाडीको ब्यवसायिकताका लागि अक्सन, विदेशी खेलाडी, मनोरन्जनका लागि चियरलिडर्स, दर्शकका लागि एक हाते क्याच लगायतका कार्य गर्दै आएका छन् ।
नेपाली फ्रेन्चाइज लिगलाई थप उचाईमा लैजान पीपीएल क्रिकेटले दोस्रो संस्करणका लागि पहिलो पटक विदेशी अम्पायर झिकाएको छ ।
श्रीलंकाका लिस्ट 'ए' अम्पाएर दिपल गुणावर्दनेले पीपीएलमा अम्पायरिङ गरिरहेका छन् । जुन नेपाली फ्रेन्चाइज क्रिकेटमा विदेशी अम्पायरले पहिलो पटक अम्पायरिङ गरेका हुन् ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा क्रिकेट अम्पाएरको भूमिकामा नेपाल आएका दिपललाई पीपीएलको आयोजकले लगत्तै अम्पायरिङको लागि सम्झौता गरेको थियो ।
दिपल श्रीलंकाका पूर्व क्रिकेटर समेत हुन् । उनले घरेलु क्रिकेटमा धर्मपाला कलेज र पुलिस स्पोर्ट्स क्लबबाट क्रिकेट खेलेका छन् । बाँया हाते ब्याटिङ गर्ने उनले ७७ फस्ट क्लास क्रिकेट र २६ लिस्ट 'ए' क्रिकेट खेलेका छन् ।
१४ वर्षे क्रिकेट करियरमा उनले पुलिस क्लबको एक सिजन कप्तानी समेत गरेका छन् ।
आफ्नो क्रिकेट करियर पछि उनले अम्पायरको भूमिकामा देखिन थाले । घरेलु क्रिकेटमा अम्पायरिङ गर्दै आएका उनले सागबाट नै अन्तराष्ट्रिय क्रिकेटको अम्पायरिङ गर्ने मौका पाएका हुन् ।
उनको डेब्यु टी ट्वान्टी अन्तराष्ट्रिय अम्पायरिङ खेल नेपालविरुद्ध भुटानको खेल हो ।