काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले आसन्न एसिया कप नेपालका लागि ठुलो अवसर हुने बताएका छन् ।
नेदरल्याण्डविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेलेर काठमाडौं ओर्लिएका कप्तान खड्काले एसिया कपको छनोटमा उत्कृष्ट प्रर्दशन गरेर त्यो अवसरलाई प्राप्त गर्न कोशिश गर्ने बताए ।
एसिया कपको छनोटमा हङकङ, ओमान र युएई जस्ता राम्रा टोली सहभागि हुने उल्लेख गर्दै उनले सबै टोलीले एक अर्कालाई चुनौती दिन सक्षम रहेको धारणा राखे ।
‘एसिया कपको छनोटमा सबैले एक अर्कालाई चुनौती दिन सक्छन् ।’ उनले भने ‘एउटा ठुलो अवसर हाम्रो अगाडी छ । छनोट प्रतियोगिता जितेर अवसरलाई आफ्नो पक्षमा पार्नेछौ ।’
अगष्ट अन्तिम साता हुने एसिया कप छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्दै छन् । छनोटको बिजेताले युएईमा हुने एसिया कपमा सहभागिता जनाउने छन् ।
नेदरल्याण्ड भ्रमणको चर्चा गर्दै उनले पहिलो एकदिवसीय अन्तराष्ट्रिय प्रतियोगितामा प्राप्त जितको महत्व भविष्यमा देखिने बताए ।
‘वान डे अन्तराष्ट्रियमा हाम्रो पहिलो जित हो । आशा गरौ माथिल्लो स्तरमा अझ जित हासिल गर्न सकिन्छ भन्ने विश्वास छ ।’ उनले भने ।
देशका लागि खेल्दा सधै दबाब महशुश हुने गरेको बताउदै उनले सबै खेलाडीमा दबाब सहेर खेल्न बानी परिसकेको उल्लेख गरे ।
भिडियो :