एजेन्सी । अमेरिका भ्रमणमा रहेको बंगलादेशले वेष्ट इण्डिजविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
सोमबार बिहान बर्षाले प्रभावित तेस्रो तथा अन्तिम टी-ट्वान्टीमा वेष्ट इण्डिजलाई डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १९ रनले हराएर बंगलादेशले सिरिजमा कब्जा जमाएको हो ।
अन्तिम खेलको जितसंगै बंगलादेशले वेष्ट इण्डिजविरुद्धको सिरिज २–१ ले जितेको हो । यसअघि भएको पहिलो खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई हराएको थियो । तर, आइतबार भएको दोस्रो खेलमा जित निकाल्दै बंगलादेशले सिरिज १–१ को बराबरी गरेको थियो ।
बंगलादेशले दिएको १८४ रनको लक्ष्यसहित वेष्ट इण्डिजले जवाफी ब्याटिङ गरिरहदा वर्षाले खेल प्रभावित गरेको थियो । वर्षाले खेल रोकिनुअघि वेष्ट इण्डिजले १७ ओभर १ बलमा ७ विकेट गुमाएर १३५ रन जोडेको थियो । त्यसपछि खेल हुन् सकेन र डिएलको आधारमा वेष्ट इण्डिजले १७ ओभर १ बलमा १५५ रनको नयाँ लक्ष्य पाउदा बंगलादेश विजयी भएको हो ।
वर्षाले खेल रोकिनुअघि वेष्ट इण्डिजका लागि आन्द्रे रुचेलले ४७, रोभम्यान पावेलले २३ तथा दिनेस रामदिनले २१ रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै २० ओभरमा ५ विकेट गुमाएर १८४ रन जोडेको थियो । बंगलादेशका लागि लिटोन दासले ६१ रन जोड्दा महोमद ममुदउल्लाहले अविजित ३२ रन जोडे ।
त्यस्तै कप्तान शाकिब अल हसनले २४ रन जोडे भने तमिम इकबालले २१ रनको योगदान दिए । वेष्ट इण्डिजका कार्लोस ब्रैथवैट र किमो पाउलले समान २/२ विकेट लिए ।