काठमाडौं । नेदरल्याण्डविरुद्ध ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र इंग्ल्यान्डको लर्डसमा त्रिकोणात्मक टी – ट्वान्टी सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएका छन् ।
तीन साता लामो युरोप भ्रमण सकेर नेपाली टोली आज स्वदेश आइपुगेका हुन् । नेपाली टोली जेट एयरलाइन्सको बिमानबाट केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।
युरोप भ्रमणमा गएका नेपाली टोलीका लेग स्पिनर सन्दीप लामिछाने भने स्वदेश फर्किएनन् । सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न नेदरल्याण्डबाटै वेष्ट इण्डिज गएका छन् । बाँकी सदस्य भने नेपाल फर्किएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेपछि नेपालले नेदरल्याण्डविरुद्ध दुई खेलको ऐतिहासिक एकदिवसीय सिरिज खेलेको थियो । गत बुधबार र शुक्रबार भएको सिरिजमा नेपाल र नेदरल्याण्डले १ – १ को बराबरी खेलेको थियो ।
बुधबार भएको एकदिवसीय क्रिकेटको डेब्यु खेलमा नेपाल नेदरल्याण्डसंग ५५ रनले पराजित भएको थियो । तर, शुक्रबार भएको दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई १ रनले हराएको थियो । उक्त जित नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय पहिलो जित हो ।
गत फेब्रुअरीमा जिम्बावेमा भएको विश्वकप छनोटबाट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएको थियो । छनोटमा एसोसिएटतर्फ उत्कृष्ट तीन टोलीमा रहेर नेपालले ऐतिहासिक सफलता पाएको थियो । चार बर्षको लागि नेपालले पाएको मान्यता यहीँ जुलाईबाट लागु भएको हो ।
नेपालले एसोसियट राष्ट्रको मान्यता पाएको २२ बर्षपछि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको हो । सन् १९९६ मा एसोसियट राष्ट्रको मान्यता पाएको नेपाल सन् १९८८ मा आईसीसीको सदस्य बनेको थियो । नेपालले एकदिवसीय मान्यता पाएपछि नेदरल्याण्डले ऐतिहासिक क्षणको लागि आथित्यमा प्रदान गरेको हो ।
यस्तै नेपालले नेदरल्याण्डसंगको खेलअघि जुलाई १९ मा क्रिकेटको मक्का मानिने लर्डसमा मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्ड सम्मलित त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेको थियो । तर, बर्षाले प्रभावित गरेपछि सिरिज नेपाल र नेदरल्याण्डले बाडेको थियो । त्रिकोणात्मक सिरिजअघि नेपालले ४ अभ्यास खेल पनि खेलेको थियो ।