काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटको इलिमिनेटर खेलमा बुटवल व्लास्टर्सले पहिले बलिङ गर्ने भएको छ ।
पोखरा रंगशालामा बुटवलले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । बुटवलले बलिङ रोजेसँगै विराटनगर टाईटन्सले पहिले ब्याटिङ गरिरहेको छ ।
आज दुवै टिम जित हात पार्दै पहिलो पटक फाइनल पुग्न चाहन्छन् ।
लिग चरणको अन्तिम खेलमा हिजो (बुधबार) विराटनगरले बुटवललाई ४ विकेटले पराजित गर्दै इलिमिनेटरमा स्थान बनाएको थियो ।
दुवै टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको छ । लिगको अन्तिम खेलमा दबाब नभएको कारण बुटवलले आफ्नो महत्वपूर्ण केहि खेलाडीलाई विश्राम दिएको थियो । आज दुवै टोलीको लक्ष्य फाइनल रहेको कारण आफ्नो उत्कृष्ट टिमलाई मैदान उतार्ने छन् ।
बुटवल ५ खेलमा ३ जित सहित ६ अंक हात पार्दै अंक तालिकाको दोस्रो स्थानमा रहँदै इलिमिनेटरमा स्थान पक्का गरेको थियो । यस्तै विराटनगर, काठमाडौं गोल्डेन्स र धनगढी ब्लुजको ५ खेलमा समान ४ अंक भएपनि नेट रन रेटमा पछि पर्दै विराटनगरले इलिमिनेटरमा स्थान बनाउन सफल भएको थियो ।
इलिमिनेटेर खेलमा विजयी हुने टिमले फाइनलमा चितवन राइनोजसंग खेल्ने छ । चितवन पहिलो संस्करणको फाइनल खेलेको टिम समेत हो ।
गत संस्करणको विजेता तथा घरेलु टोली पोखरा पल्टन भने लिग चरणबाटै बाहिरिएको छ ।