पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको इलिमिनेटेरमा प्रवेश गरेको छ ।
इलिमिनेटेर पुग्नको लागि जित्नै पर्ने खेलमा बुधबार बुटवल ब्लास्टर्सलाई ४ विकेटले पराजित गर्दै विराटनगर इलिमिनेटेरमा प्रवेश गरेको हो ।
पोखरा रंगशालामा बुटवलले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगरले ११ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
विराटनगरको जितमा नोमन खानले सर्वाधिक ३५ रन बनाए । यस्तै पुनित मेहेराले ३२, जैद आलमले २४, पुष्प थापाले १८ र लोकेश बमले १३ रन बनाए ।
बुटवलका नितेश थापाले २ तथा अविनाश बोहरा, कमल खत्री र हर्ष टंकले समान १/१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
बुटवलका हर्ष टंकले अर्धशतकीय इनिङ्स खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मद्दतमा ६७ रनको सर्वाधिक इनिङ्स खेले ।
यस्तै शिबम सिंहले ३७ र कप्तान सिदान्त लोहनीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरका जैद आलमले ४ तथा किशोर महतोले २ विकेट हात पारे । यस्तै दिपेश श्रेष्ठ, शाहब आलमले समान १/१ विकेट लिए ।
जितसँगै विराटनगर ५ खेलमा ४ अंक जोड्दै तेस्रो स्थानमा रहदै इलिमिनेटेरमा पुगेको हो ।
अब विराटनगरले फाइनल प्रवेशको लागि इलिमिनेटेरमा बुटवलसँग नै खेल्नेछ । बुटवल ५ खेलमा ६ अंक जोडेर लिगको दोस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो ।
इलिमिनेटेरको विजेताले फाइनलमा चितवन राइनोजसँग खेल्नेछ । चितवन अपराजित रहदै ५ खेलमा १० अंक जोड्दै शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो ।
विराटनगरले बुटवलमाथि शानदार जित निकालेसँगै काठमाडौं गोल्डेन्स भने बाहिरिएको छ । ५ खेलमा ४ अंक जोडेपनि काठमाडौं नेट रन रेटमा विराटनगरसँग पछि पर्यो ।
यस्तै धनगढी ब्लुज पनि ५ खेलमा ४ अंक जोडेपनि नेट रन रेटमा विराटनगरसँग पछि परेको थियो ।