एजेन्सी । म्यानचेस्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । आइतबार बेलुका भएको खेलमा चेल्सीलाई २ - ० ले हराएर सिटीले उपाधि जितेको हो ।
वेम्बली स्टेडियममा भएको खेलमा सर्जियो अग्युरो नायक बन्दा सिटीले सिजनको पहिलो उपाधि कम्युनिटी शिल्ड जितेको हो । सिटीको जितमा दुवै गोल अग्युरो गरे ।
पहिलो हाफको १३ औं मिनेटमा अग्युरोले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा अग्युरोले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २ - ० को जित दिलाए । चेल्सीविरुद्ध दुई गोल गरेसंगै अग्युरोले सिटीका लागि २ सयौं गोल पुरा गरेका छन् ।
इन्ग्लिश प्रिमियर लिगको विजेता र एफए कपको विजेताले खेल्ने कम्युनिटी शिल्डसंगै इंग्ल्यान्डमा फुटबलको नयाँ सिजनको सुरुवात हुने गर्छ ।
सिटी प्रिमियर लिग विजेता र चेल्सी एफए कप विजेताको रुपमा कम्युनिटी शिल्डको लागि प्रतिस्पर्धा गरेका हुन् ।
योसंगै सिटीले पाँचौ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ । कम्युनिटी शिल्डमा सर्वाधिक सफल टिम म्यानचेस्टर युनाइटेड हो । युनाइटेडले हालसम्म २१ पटक कम्युनिटी शिल्डको उपाधि जितेको छ ।
यता, चेल्सी भने पुन पाचौं पटक कम्युनिटी शिल्ड असफल भएको छ । कम्युनिटी शिल्डमा चेल्सीको यो पाँचौ हार हो । यस्तै प्रशिक्षक माउरिजियो सार्रीको चेल्सीमा डेब्यु खेल पनि सुखद बन्न सकेन ।