पोखरा । पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा मंगलबार ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोल्डेन्सलाई ६० रनले पराजित गर्दै चितवन उपाधि नजिक पुगेको हो ।
पोखरा रंगशालामा चितवनले दिएको लागि १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।
कप्तान ज्ञानेन्द्रले ४० रन बनाएपनि काठमाडौंलाई जित दिलाउन सकेनन् । यस्तै पवन सर्राफले २७ तथा पृथु बास्कोटाले १८ रन बनाए ।
चितवनका सन्नी पटेलले ३ तथा रोहन मुस्तफाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो
चितवनका लागि बाबर हायत र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले । बाबरले ७० तथा रोहनले अविजित ५९ रन बनाए ।
यस्तै आरिफ शेख र सन्नी पटेलले १५/१५ रन बनाए ।
काठमाडौंका सुशन भारी, अमर सिंह रौटेला र बसन्त रेग्मीले १/१ विकेट लिए ।
जितसंगै चितवन पाँच खेलमा अपराजित रहदै फाइनल पुगेको हो । चितवनले ५ खेलमा १० अंक जोड्न सफल भयो ।
तेस्रो स्थानको काठमाडौंले ५ खेलमा ४ अंक जोडेको छ । काठमाडौंको पनि प्ले अफ सम्भावना कायम रहेको छ ।
तर, काठमाडौंको प्ले अफ यात्रा बुधबार हुने विराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबीचको खेलले तय गर्नेछ ।