पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा अहिले चितवन राइनोज र काठमाडौं गोल्डेन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा काठमाडौंले टस जितेको छ र पहिले फिल्डिङ रोजेको छ । काठमाडौंले बलिङ गर्ने निर्णय गरेपछि चितवनले सुरुवातमा ब्याटिङ गर्ने भएको छ ।
चितवन राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा मैदान उत्रदा काठमाडौं वर्तमान कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा मैदानमा छन् ।
यस खेल काठमाडौंका लागि निकै महत्वपूर्ण रहेको छ । प्रतियोगिताको प्ले अफमा स्थान बनाउन काठमाडौंलाई जित्नै पर्ने दबाब रहेको छ ।
चार खेलमा ४ अंक जोडेको काठमाडौं तालिकाको तेस्रो स्थानमा रहेको छ । जितले काठमाडौं प्ले अफमा पुग्नेछ । पराजित भए अन्य खेलको नतिजा कुर्नु पर्नेछ ।
चितवन भने प्ले अफ पुगिसकेको छ । तर, चितवन काठमाडौंलाई हराउँदै अपराजित रहेर फाइनल पुग्न चाहन्छ । चितवन चार खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
शीर्ष टोलीले सिधै फाइनल खेल्नेछ । दोस्रो र तेस्रो टिमले फाइनल प्रवेशको लागि इलिमिनेटर खेल्नेछ ।