काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेष्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । अष्ट्रेलियाका पुर्व कप्तान स्टेभेन स्मिथलाई पछि पार्दै कोहली पहिलोपटक टेष्ट क्रिकेटको शीर्ष स्थानमा उक्लिएका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार सार्वजनिक गरेको टेष्ट ब्याट्सम्यानको नयाँ वरियतामा कोहलीले ९४३ अंक प्राप्त गरेका छन् । कोहली टेष्ट क्रिकेटमा भारतका महान खेलाडी सचिन तेन्दुलकरपछि शीर्ष स्थानमा पुग्ने पहिलो खेलाडी हुन् । सचिन सन् २०११ को जुनमा शीर्ष स्थानमा रहेका थिए ।
यस्तै कोहली टेष्ट ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लने सातौं भारतीय ब्याट्सम्यान समेत बनेका छन् । यसअघि भारतका तेन्दुलकरसहित राहुल द्रविड, गौतम गम्भीर, सुनील गावस्कर, विरेन्द्र सेहवाग र दिलिप भेन्स्कागारले शीर्ष स्थान हात पारेका थिए ।
दक्षिण अफ्रीकाविरुद्धको टेष्ट दौरान बल टेम्परिङको आरोप लागेपछि स्मिथलाई क्रिकेट अष्ट्रेलियाले एक बर्ष प्रतिबन्ध लगाएको छ । स्मिथ प्रतिबन्धमा रहदा कोहलीले मौका पाएका हुन् । यसअघि स्मिथ सन् २०१५ बाट लगातार शीर्ष स्थानमा रहदै आएका थिए । नयाँ वरियताको दोस्रो स्थानमा रहेका स्मिथले ९२९ अंक पाएका छन् ।
आईसीसीले निकालेको नयाँ वरियतामा इंग्ल्यान्डका जोए रुट ८६५ अंकका साथ तेस्रो स्थानमा रहेका छन् । यस्तै न्युजिल्यान्डका केन विलियम्सन ८४७ अंकसहित चौथो स्थानमा रहँदा अष्ट्रेलियाका पुर्व खेलाडी डेभिड वार्नर ८२० अंकसहित पाँचौं स्थानमा छन् ।
टेष्ट क्रिकेटकै ब्याट्सम्यानतर्फ भारतका चेतेश्वर पुजारा, श्रीलंकाका दिमुथ करुनारत्ने, श्रीलंकाकै दिनेश चण्डीमाल, दक्षिण अफ्रिकाका डीन एल्गेर र अफ्रिकाकै एडीन मार्क्रम क्रमशः छैटौंदेखि दशौ स्थानमा रहेका छन् ।
टेष्ट क्रिकेटको बलिङतर्फ इंग्ल्यान्डका बलर जेम्स एण्डरसनले ८८४ अंक जोडेर शीर्ष स्थान हात पार्दा दक्षिण अफ्रिकाका कागीसो राबडा ८८२ अंकसहित दोस्रो स्थानमा रहेका छन् । नयाँ वरियतामा भारतीय बलर रविन्द्र जडेजा ८५७ अंकसहित तेस्रो, दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे ८२६ अंकसहित चौथो र भारतका रविचन्द्र आश्विन ८२५ अंकसहित पाँचौ स्थानमा रहेका छन् ।
आईसीसीले जारी गरेको टेष्ट क्रिकेटको अलराउण्डरतर्फ बंगलादेशका शकिब अल हसन ४२० अंकसहित शीर्ष स्थानमा यथावत रहेका छन् । ३९० अंक जोडेका भारतका रविन्द्र जडेजा दोस्रो र दक्षिण अफ्रिकाका भेर्नोन पिलान्धरे ३७० अंकसहित तेस्रो स्थानमा छन् । यस्तै ३५९ अंकसहित भारतका रविचन्द्र आश्विन चौथो र ३५४ अंकसहित वेष्ट इण्डिजका जासन होल्डर पाँचौ स्थानमा रहेका छन् ।