काठमाडौं । इन्डोनेसियामा आयोजना हुने १८ औं संकरणको एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपालले समूह चरणको पहिलो खेलमा जापानसंग खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को अनुसार समूह 'डी' मा रहेको नेपालले पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसंग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ ।
एसियन गेम्सको पुरुष फुटबलमा २६ टोलीले खेल्दै छन् । प्रत्येक समूहबाट दुई शीर्ष टोलीले नकआउट चरणमा स्थान बनाउने छन् ।
आगामी अगष्ट १४ देखी सेप्टम्बर १ सम्म जाकार्ता र पालेमबाङमा हुदैछ । प्रतियोगिताका लागि २० सदस्यीय नेपाली टोलीको घोषणा यस अघिनै गरिएको छ ।
जसमा किरण चेम्जोङ, भरत खवास र रोहित चन्दलाई सिनियर खेलाडीको रुपमा प्रतियोगितामा समावेश गरिएको छ । एसियन गेम्समा २३ बर्षका मुनिका खेलाडी समावेश हुन्छन् । जसमा २३ बर्षमाथिका ३ सिनियर खेलाडी राख्न पाउने प्रावधान छ ।
नेपाली टोली हाल थाइल्याण्डमा तयारी गरिरहेका छन् । नेपालले विशेष प्रशिक्षणको दौरान दुई अभ्यास खेल खेल्ने छ । नेपालले स्थानीय क्लब र थाइल्याण्डको यू-२३ टोलीसंग अभ्यास खेल छन् ।
नेपालले पहिलो अभ्यास खेल अगष्ट ७ मा पुलिस टेरो क्लबसंग बोनयाचिन्दा स्टेडियममा खेल्ने छ । यस्तै नेपालले यू–२३ टोलीसंग अगष्ट १० मा थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।