पोखरा । साविक विजेता पोखरा पल्टन दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटबाट बाहिरिएको छ ।
सोमबार भएको खेलमा एक्स्पर्ट धनगढीसँग ५ विकेटले पराजित हुँदै पोखरा प्रतियोगिताबाट बाहिरिएको हो ।
पोखरा रंगशालामा पोखराले दिएको ८० रनको सामान्य लक्ष्य धनगढीले ९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
धनगढीका दिपक पुनियाले २५ रन बनाए । यस्तै रोड्रिगो थोमसले १५ तथा कप्तान दिपेन्द्र सिंह ऐरीले १३ रन बनाए ।
पोखराका प्रथामेश डाके र सराबजित लड्दाले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १६ ओभर ३ बलमा अलआउट हुँदै ७९ रन बनाएको थियो ।
पोखराका लागि आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । यस्तै विनोद भण्डारीले १२ रन बनाए ।
धनगढीका अनिल खरेलले ३ विकेट लिए । दिपक पुनिया,कमल सिंह ऐरी र सागर ढकालले २/२ विकेट लिए ।
धनगढीसँग पराजित भएसँगै पोखराले ५ खेलमा मात्र २ अंक जोड्यो ।
धनगढीले ५ खेलमा ४ अंक जोडेको छ । पाँचौं स्थानको धनगढीको प्ले अफ सम्भावना कायम रहेको छ ।