एजेन्सी । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गतको दोस्रो टेष्टमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेको छ ।
कराचीमा सोमबार पाकिस्तानले श्रीलंकालाई २ सय ६३ रनले हराएको हो ।
पाकिस्तानले दिएको ४ सय ७६ रनको लक्ष्यसहित दोस्रो इनिङ्स थालेको श्रीलंका २ सय १२ रन जोड्दा अलआउट भयो ।
श्रीलंकाका लागि ओसाडा फर्नान्डोले १ सय २ रनको शतकीय इनिङ्स खेले । निरोशन डिक्वेलाले ६५ रन बनाए । पाकिस्तानका निशम साहले ५ विकेट लिए । यासिर साहको नाममा २ विकेट रह्यो ।
यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले पहिलो इनिङ्समा १ सय ९१ रन बनाएको थियो । तर, दोस्रो इनिङ्समा चार खेलाडीले शतक बनाउदा पाकिस्तानले ५ सय ५५ रन बनाएको थियो ।
पाकिस्तानका अबिद अलीले १ सय ७४, शान मासुदले १ सय ३५, अजर अलीले १ सय १८ र बाबर आजमले अविजित १०० रनको शतकीय इनिङ्स खेले ।
श्रीलंकाले पहिलो इनिङ्समा २ सय ७१ रन बनाएको थियो ।
पाकिस्तान र श्रीलंकाबीचको पहिलो टेष्ट ड्र भएको थियो ।