पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज सोमबार साविक विजेता पोखरा पल्टन र एक्स्पर्ट धनगढीबीच प्रतिस्पर्धा हुँदैछ ।
पोखरा रंगशालामा घरेलु टिम र धनगढीबीचको खेल बिहान ११:३० मा सुरु हुनेछ । पोखरा शरद भेषवाकरको कप्तानीमा मैदान उत्रदा धनगढी दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदान उत्रने छ ।
पुछारमा रहेका दुई टोलीका लागि यस खेल महत्वपूर्ण रहेको छ । दुबै टोलीलाई प्ले अफको गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाब छ ।
पोखरा ४ खेलमा २ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । धनगढी ४ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।
त्यसैले दुवै टिम जित निकाल्दै प्ले अफमा पुग्ने गणितीय सम्भावना कायम राख्न चाहन्छ । तर, दुवै टोलीलाई जितले मात्र पुग्ने छैन् । अन्य खेलको नतिजा समेत अनुकुल आउनु पर्नेछ ।
चितवन राइनोज र बुटवल ब्लास्टर्स पीपीएलको प्ले अफमा पुगिसकेका छन् । अब एक टोलीले प्ले अफमा स्थान बनाउने छन् । जसमा चार टोलीको प्रतिस्पर्धा रहेको छ ।
यस्तोमा पोखरा र धनगढीसँगै काठमाडौं गोल्डेन्स र विराटनगर टाईटन्स समेत प्ले अफ होडमा रहेका छन् ।
चार खेलमा ४ अंक जोडको काठमाडौं तेस्रो र २ अंक जोडेको विराटनगर चौथो स्थानमा रहेका छन् ।