काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
आइतबार भएको खेलमा होबर्ट हुरिकान्सलाई ५२ रनले पराजित गर्दै मेलबर्नले लगातार दोस्रो जित निकालेको हो । यस अघि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो ।
मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबर्टले १६ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो ।
होबर्टका लागि क्लिभ रोजले सर्वाधिक ३२ रन बनाए । यस्तै कालेप जेवेलले २५ रन बनाए ।
होबर्टलाई सस्तैमा समेट्न मेलबर्नका हरिस राउफले ५ विकेट लिए । कप्तान ग्लेन म्याक्सवेल र एडम जाम्पाले २/२ विकेट लिए ।
सन्दीपले ३ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो ।
मेलबर्नका लागि मार्कोस स्टोनिसले ८१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै निक म्याडिसनले ४० तथा बेन डन्कले १९ रन बनाए ।
हुरिकान्सका रीले मेरेडिथले ३ विकेट लिए ।
जितसँगै मेलबर्नले २ खेलमा ४ अंक जोडेको छ । मेलबर्न तालिकाको दोस्रो स्थानमा रहेको छ ।