पोखरा । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग टी-ट्वान्टी क्रिकेट (पीपीएल) मा लगातार चौंथो जित निकालेको छ ।
पोखरा रंगशालामा आइतबार भएको खेलमा विराटनगर टाईटन्सलाई १८ रनले पराजित चितवनले लगातार चौंथो जित निकालेको हो ।
चितवनले दिएको १ सय ४७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १९ ओभरमा अलआउट हुँदै १ सय २८ रनमा समेटियो ।
विराटनगरका लोकेश बमले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै पुनित मेहेराले २४ तथा नोमन खानले १८ रन बनाए ।
चितवनका करण केसी र भुवन कार्कीले ३/३ विकेट लिए । रोहन मुस्तफाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो ।
चितवनको लागि आरिफ शेखले अविजित ३९ रन जोड्दा सन्नी पटेलले अविजित २७ रन बनाए ।
यस्तै कप्तान पारस खड्काले ३५ रन जोड्दा बाबर हायातले २५ रन बनाए ।
विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहेरा, मुहमद जायद आलमले एक एक विकेट लिए ।
जितसँगै चितवन फाइनल नजिक पुगेको छ । शीर्ष स्थानको चितवनले ४ खेलमा अपराजित रहदै ८ अंक जोडेको छ ।
चितवनले अन्तिम खेलमा काठमाडौं गोल्डेन्ससँग खेल्नेछ ।
चार खेलमा २ अंक जोडेको विराटनगर चौंथो स्थानमा रहेको छ । हारसँगै विराटनगरको प्ले अफ सम्भावना कमजोर बनेको छ । अन्तिम खेलमा विराटनगरले बुटवल ब्लास्टर्ससँग खेल्नेछ ।
लिगको शीर्ष स्थानमा रहने टिम सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टिमले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल खेल्ने छन् ।