एजेन्सी । अमेरिका भ्रमणमा रहेको बंगलादेशले वेष्ट इण्डिजविरुद्ध दोस्रो टी-ट्वान्टी क्रिकेटमा जित निकालेको छ । आइतबार बिहान भएको खेलमा बंगलादेशले वेष्ट इण्डिजलाई १२ रनले हराएको हो ।
फ्लोरिडामा बंगलादेशले दिएको १७२ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १५९ रन जोड्न सक्यो । वेष्ट इण्डिजका लागि आन्द्रे फ्लेटचर र रोभम्यान पावेलले समान ४३ – ४३ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् ।
त्यसबाहेक वेष्ट इण्डिजका आन्द्रे रुचेलले १७ तथा एस्ले नर्स १६ रन जोडे । बंगलादेशका मुस्ताफिजुर रहमान र नाज्मुल इस्लामले समान ३/३ विकेट लिए । कप्तान शाकिब अल हसनको नाममा २ विकेट रह्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले पुरै २० ओभरमा ५ विकेट गुमाएर १७१ रन जोडेको थियो । बंगलादेशका लागि तमिम इकबाल र कप्तान हसनले अर्धशतकीय पारी खेले । इकबालले ७४ रन जोड्दा हसनले ६० रनको योगदान दिए ।
यस्तै सौम्य सरकारले १४ रन जोड्दा महोमद ममुदउल्लाहले अविजित १३ रन जोडे । वेष्ट इण्डिजका एस्ले नर्स र किमो पाउलले समान २/२ विकेट लिए ।
यो जितसंगै बंगलादेशले वेष्ट इण्डिजविरुद्धको तीन खेलको सिरिजमा १ – १ को बराबरी गरेको छ । दुई टोलीबीचको अन्तिम तथा निर्णायक खेल सोमबार हुनेछ ।