एजेन्सी । पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च सुपर कपको उपाधि जितेको छ । शनिबार राति भएको खेलमा मोनाकोलाई ४ – ० गोल अन्तरले हराएर पिएसजीले सिजनको पहिलो उपाधि जितेको हो ।
चीनमा भएको खेलमा पिएसजीलाई जित दिलाउन एन्जल डी मारियाले दुई गोल गरे । यस्तै क्रिष्टोफर एनकुकु र तिमोथी वाहले एक एक गोल गरे । मोनाकोविरुद्ध पिएसजीले दुवै हाफमा २ – २ गोल गरेको थियो ।
यो खेलमा पिएसजीका ब्राजिलियन स्टार फरवार्ड नेमयार भने अन्तिम १५ मिनेट बाँकी रहदा मैदान प्रवेश गरेका थिए । नेमयार खेलको ७५ औं मिनेटमा मार्को भेराट्टीको स्थानमा मैदान छिरेका थिए । रुस विश्वकपपछि नेयमार पहिलोपटक मैदान प्रवेश गरेका थिए ।
पिएसजीले आठौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको हो । योसंगै पिएसजीले फ्रेन्च सुपर कपमा सर्वाधिक आठ पटक जित्ने लियोनसंगको किर्तिमान बराबर गरेको छ । फ्रान्सेली लिग वानको नयाँ सिजन अघि फ्रेन्च सुपर कपको हुने गर्दछ ।
यसै खेलबाट इटालीका पुर्व गोलरक्षक जियानलुइजी बुफोनले पिएसजीमा डेब्यु गरेका छन् । र, इटालियन क्लब युभेन्ट्सबाट यसै सिजन क्लब आएका बुफोनको शुखद डेब्यु भएको छ ।