एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस च्याम्पियन बार्सिलोना पराजित भएको छ । आइतबार बिहान भएको खेलमा बार्सिलोनालाई इटालियन क्लब एसी मिलानले १ – ० ले हराएको हो ।
अमेरिकामा भएको खेलमा एसी मिलानलाई जित दिलाउन आन्द्रे सिल्भाले निर्णायक गोल गरे । दोस्रो रोजाईका खेलाडी मैदान उतारेको बार्सिलोनाविरुद्ध मिलानले पहिलो हाफमा गोलरहित बराबरी खेलेको थियो ।
तर, दोस्रो हाफमा एक गोल गर्दै मिलानले बार्सिलोनालाई हराउन सफल भयो । खेलको इन्जुरी समयमा सिल्भाले निर्णायक गोल गर्दै मिलानलाई १ – ० को जित दिलाएका हुन् । त्यसअघि खेलमा दुवै टोलीले गोल गर्ने धेरै मौकाहरु गुमाएका थिए ।
यसअघिको खेलमा पनि बार्सिलोना इटालियन क्लब रोमासंग पराजित भएको थियो । मिलान टोटेनहमसंग पराजित भएको थियो ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघिको प्रि-सिजन तयारी गर्न बार्सिलोना र मिलान हाल अमेरिकामा रहेका छन् ।