पोखरा । चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा एक्पर्ट धनगढीलाई ५२ रनले पराजित गर्दै चितवनले लगातार तेस्रो जित निकालेको हो ।
पोखरा रंगशालामा चितवनले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २९ रन मात्र बनाउन सक्यो।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ४९ रन बनाए । यस्तै रोड्रिगो थोमसले २४, सन्दीप जोराले २१ तथा अमित यादबले १७ रन बनाए ।
चितवनका भुवन कार्कीले ३ विकेट लिए । करण केसी र सन्नी पटेलले २/२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो ।
चितवनका लागि आरिफ शेखले अविजित रहदै सर्वाधिक ४७ रन बनाए । यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए ।
त्यस्तै बाबर हायतले ३६ रन जोड्दा कप्तान पारस खड्काले २३ रन बनाए । अनिल साहले १९ रन जोडे ।
धनगढीका दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २/२ विकेट लिए ।
जितसँगै चितवनले ३ खेलमा ६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ ।
धनगढीको यो दोस्रो हार हो । धनगढी ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ ।