एजेन्सी । पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ ।
पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।
पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे पोखरा र वुटबल भिड्नेछन् ।
साविक विजेता पोखरा ३ खेलमा मात्र १ जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । पहिलो खेलमा काठमाडौं गोल्डेनलाई हराएको साविक विजेता दोस्रो खेलमा चितवनसंग पराजित हुन पुगेको थियो ।
त्यसैले शरद भेषवाकर नेतृत्वको पोखरालाई जित निकाल्दै टिमलाई अगाडी बढाउनुपर्ने जिम्मेवारी रहेको छ ।
बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ ।
सोमपाल कामी नेतृत्वको बुटवलले सुपर ओभरमा काठमाडौंमाथि पहिलो खेलमा जित निकालेको थियो ।
दोस्रो खेलमा कीर्तिमानी लक्ष्य पाएको बुटवलले चितवनलाई खेल सुम्पिएको थियो । त्यसैले अघिल्लो चरणको यात्रा तय गर्न बुटवललाई समेत जित महत्वपुर्ण छ ।
अर्को खेलमा दिउँसो सवा १ बजे एक्सपर्ट धनगढी र चितवन राईनोज भिड्नेछन् । चितवन जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो ।
चितवन दुवै खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ ।
पहिलो खेलमा साविक विजेता पोखरालाई निराश बनाएको चितवनले दोस्रो खेलमा बुटवलमाथि शानदार जित आत्मसाथ गरेको थियो ।
राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान पारस खड्का नेतृत्वको चितवन तेस्रो खेलमा समेत जित निकाल्दै अघि बढ्न चाहन्छ ।
धनगढीले भने दुई खेलमा मात्र एक जित आत्मसाथ गरेको छ ।
पहिलो खेलमा विराटनगरमाथि रोमाञ्चक जित दर्ता गरेको धनगढी दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको शतकसंगै काठमाडौंसंग पराजित भएको थियो ।
अघिल्लो चरणको यात्रा तय गर्न दिपेन्द्र सिंह ऐरी नेतृत्वको धनगढीलाई जित निकाल्नै पर्ने दबाब छ ।