एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा स्पेनिस क्लब रियल मड्रिडले युभेन्ट्सलाई पराजित गरेको छ । आइतबार बिहान भएको खेलमा रियलले इटालियन च्याम्पियन युभेन्ट्सलाई ३ – १ गोल अन्तरले हराएको हो ।
अमेरिकामा भएको खेलमा रियललाई जित दिलाउन मार्को एसेन्सियोले दुई गोल गरे । यस्तै ग्यारेथ बेलले एक गोल गरे । युभेन्ट्सले एक आत्मघाती गोलको उपहार पाएको थियो । रियलका ड्यानियल कार्भाजलले आत्मघाती गोल गरेका थिए ।
मेरिल्याण्डमा पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले खेलको १२ औं मिनेटमा कार्भाजलको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । यसै सिजन रियलबाट युभेन्ट्स आएका रोनाल्डो अमेरिका भ्रमणमा छैनन् । रोनाल्डो टुरिनमै प्रशिक्षण गरिरहेका छन् ।
आत्मघाती गोलबाट गोलले पछि परेको रियल खेलको ३९ औं मिनेटमा बेलको गोलबाट खेलमा फर्कियो । पहिलो हाफ १ – १ गोलको बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रियलले थप दुई गोल गर्यो । जसमा रियलका एसेन्सियो नायक बने ।
खेलको ४७ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ५६ औं मिनेटमा एसेन्सियोले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई ३ – ० को जित दिलाए ।
युरोपियन क्लब फुटबलको नयाँ सिजन सुरुअघिको प्रि सिजन तयारी गर्न रियल र युभेन्ट्स अमेरिकामा रहेका छन् ।