काठमाडौं । अष्ट्रेलियाको चर्चित फ्रेन्चाइज बिग बास लिग (बीबीएल) क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले भोली (शुक्रबार) पहिलो खेल खेल्दैछ ।
मेट्रिकन स्टेडियममा हुने खेलमा मेलबर्नले सिजनको पहिलो खेलमा ब्रिसबेन हिटको सामना गर्नेछ । मेलबर्नले ब्रिसबेनसँगको खेलका लागि १३ सदस्सीय टिमको घोषणा गरेको छ । जसमा सन्दीप अटाएका छन् ।
मेलबर्न ग्लेन म्याक्सवेलको कप्तानीमा मैदान उत्रनेछ । ब्रिसबेनविरुद्धको खेलमा सन्दीप प्लेईङ सेटमा पर्ने सम्भावना बलियो रहेको छ । किनकी गत सिजन सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
गत सिजन उत्कृष्ट प्रदर्शन गरेपछि सन्दीपलाई क्लबले पुनः अनुबन्ध गरेको थियो ।
गत सिजन बीबीएलमा डेब्यु गरेका सन्दीपले डेब्यु सिजन ८ खेलमा ११ विकेट हात पारेका थिए ।
गत सिजन मेलबर्न फाइनलमा मेलवर्न रेनेगेड्ससँग पराजित भएको थियो ।