पोखरा । चितवन राइनोजले पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
पोखरा रंगशालामा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सुय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले लगातार दोस्रो जित निकालेको हो ।
चितवनले दिएको २ सय ४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।
बुटवलका लागि शिबम सिंहले सर्वाधिक ३३ तथा भिम सार्कीले २१ रन बनाए । हरि चौहानले १२ रन बनाए ।
बुटवललाई सस्तैमा समेट्न करण केसीले ४ विकेट लिए । यस्तै रोहन मुस्तफाले २ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।
चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो । गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वाधिक ठुलो स्कोर रहेको थियो ।
चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।
पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाए । रोहनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आरिफ शेखले ४० रन बनाए ।
बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।
जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।
बुटवलको २ खेलमा २ अंक रहेको छ । पहिलो खेलमा बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।
बुटवल तालिकाको पुछारमा रहेको छ ।