काठमाडौं । दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता पुसको तेस्रो साताबाट आयोजना हुने भएको छ ।
आयोजकले बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता पुसको १५ गतेबाट माघ ४ गतेसम्म आयोजना हुने जानकारी गराएको छ ।
इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिता इनरुवा रंगशालामा हुने छ ।
प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा कुल १५ खेल हुनेछ ।
प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र स्थानीय टिमको सहभागिता रहने प्रतियोगिता संयोजक विप्लप घोषले जानकारी गराए ।
यस्तै प्रतियोगिता खेल्न मलेसियाको राष्ट्रिय क्रिकेट टिम आउने छन् ।
प्रतियोगिताको विजेताले ४ लाख ५ हजार नगद पुरस्कार पाउने छन् । उपविजेताले २ लाख ५ हजार तथा सेमिफाइनलमा पराजित हुने टोलीले ३०-३० हजार पाउने छन् ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५५ हजार प्राप्त गर्नेछन् ।