एजेन्सी । इन्ग्लिश क्लब लिभरपुलले मैत्रीपूर्ण खेलमा फराकिलो जित निकालेको छ । शनिबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले इटालियन क्लब नेपोलीलाई ५ – ० गोल अन्तरले हराएको हो ।
डुब्लीनमा भएको खेलमा लिभरपुललाई जित दिलाउन जेम्स मिल्नर, जर्जिनियो विज्नाल्डम, मोहमद सलाह, ड्यानियल स्टुरेज र अल्बर्टो मोरेनोले समान एक एक गोल गरे । नेपोलीविरुद्ध लिभरपुलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।
पहिलो हाफको चौथो मिनेटमा मिल्नरले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको नवौं मिनेटमा विज्नाल्डमले गोल गरेपछि लिभरपुल पहिलो हाफमा २ – ० ले अघि रह्यो । खेलको ५८ औं मिनेटमा सलाहले गोल गरेपछि लिभरपुलको अग्रता ३ – ० को पुग्यो ।
त्यसपछि खेलको ७३ औं मिनेटमा स्टुरेजले गोल गर्दै लिभरपुललाई ४ – ० को अग्रता दिलाए । त्यसपछि खेलको ७७ औं मिनेटमा मोरेनोले गोल गर्दै लिभरपुललाई ५ – ० को फराकिलो जित दिलाए ।
इन्ग्लिश प्रिमियर लिगको लागि प्रि सिजनको तयारी गरिरहेको लिभरपुलले इटालियन क्लबसंग मैत्रीपूर्ण खेल खेलेका हुन् । नेपोली पनि इटालियन सिरी ए को तयारीमा रहेका छन् ।