पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई जितका लागि २ सय ४ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनायो ।
चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो । गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वाधिक ठुलो स्कोर रहेको थियो ।
चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।
पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाए । रोहनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।
यस्तै आरिफ शेखले ४० रन बनाए ।
बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।
प्रतियाेगितामा दुवै टिम अपराजित रहेका छन् । आज दुवै टिम जित निकाल्ने योजनामा रहेका छन् ।
पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।
यस्तै, बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।
दुई टोलीले तालिकामा समान २ अंक जाेडेका छन् ।
रन रेटको अन्तरले चितवन शीर्ष स्थानमा रहँदा बुटवल चौथो स्थानमा रहेको छ ।