पोखरा । विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित हात पारेको छ ।
बुधबार भएको खेलमा साविक विजेता पोखरा पल्टनलाई ४५ रनले पराजित गर्दै विराटनगरले पहिलो जित हात पारेको हो ।
पोखरा रंगशालामा विराटनगरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ५ बलमा १०० रन जोड्दा अल आउट भयो ।
पोखराका रोहित कुमार पौडेलले सर्वाधिक ३२ रन बनाए । यस्तै कुशल भुर्तेलले २४, आसिफ शेखले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरका किशोर महतोले ३ विकेट हात पारे । यस्तै जयद आलम र जितेन्द्र मुखियाले समान २/२ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
विराटनगरका लागि पुनित मेहेराले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २६ बलमा ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै सुनिल धमलाले ३६ रन जोड्दा मोहमद जायद आलमले २६ रन बनाए । पोखराका कप्तान शरद भेषवाकरले २ विकेट लिए ।
जितसंगै विराटनगरले २ खेलमा २ अंक जोडेको छ । यसअघि विराटनगर पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको थियो ।
पोखराको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा काठमाडौं गोल्डेनलाई पराजित गरेको पोखरा यस अघि चितवन राइनोजसँग पराजित भएको थियो ।
पोखराले ३ खेलमा २ अंक जोडेको छ ।