पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेट लिग अन्तर्गत काठमाडौं गोल्डेन वारियर्सनले धनगढी ब्लुजलाई १ सय ८६ रनको ठुलाे लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेट गुमाएर १ सय ८५ रन बनायो । उसका कप्तान ज्ञानेन्द्र मल्लले शतकीय इनिङ्स खेले । उनले ३८ बलमा ८ चौका र ९ छक्का प्रहर गर्दै सय रन बनाए ।
यस्तै जयकिशन कोल्सावालाले ४६ रनको इनिङ्स खेले । ३७ बल खेलका उनले ४ चौका र २ छक्काको मद्दतमा अर्धशतकबाट ४ रानाले चुके । मल्ल र कोल्सावालाले तेस्रो विकेटको लागि शतकीय रनको साझेदारी गरेका थिए ।
खराब मौषमको कारण टस ढिला सुरु भएको कारण खेल १७ ओभरमा घटाइएको हो ।
यस संस्करणमा काठमाडौंले बनाएको रन प्रतियोगिताको सर्वाधिक रन हो ।
धनगढीका कमल सिंह ऐरीले ४ तथा सागर ढकालले १ विकेट लिए ।
प्रतियोगितामा काठमाडौं पहिलो जितको खोजीमा रहेको छ भने धनगढी लगातार दोस्रो जित निकाल्न चाहान्छ ।
सोमबार भएको पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गर्दै धनगढी ब्लुजले प्रतियोगितामा सुखद सुरुवात गरेको थियो ।
काठमाडौं भने पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा बुटवल ब्लास्टर्ससंग पराजित भएको थियो ।
सोही कारण ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौंलाई खेलमा फर्कन जित आवश्यक छ ।
एक जित निकालेको धनगढी २ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । दुवै खेलमा पराजित काठमाडौं भने अंक विहिन हुँदै तालिकाको पुछारमा रहेको छ ।