काठमाडौं । छैटौं संस्करणको माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता सरेको छ ।
आयोजक एसएस इभेन्टस् प्रालिले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै प्रतियोगिता सरेको जनाएको छ । यस अघि प्रतियोगिता पुस २ देखि ७ गतेसम्म टियु क्रिकेट मैदानमा हुने तालिका रहेको थियो ।
तर, नेपालमा सम्पन्न साग खेलकुद र आगामी फेब्रुवरीमा हुने आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ एकदिवसीय क्रिकेटको कारण प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।
आईसीसी क्रिकेट वर्ल्ड कप लिगका लागि टियु मैदानको मर्मत भईरहेको कारण प्रायोजक र सहभागी टिमसँगको छलफलपछि प्रतियोगिता सारिएको आयोजकले जनाएको छ ।
आईसीसी क्रिकेट वर्ल्ड कप लिग अन्तर्गत नेपालले फेब्रुवरी ५ देखि १२ सम्म नेपाल, ओमन र अमेरिकाबीच सिरिज हुनेछ । उक्त सिरिजपछि प्रतियोगिताको नयाँ मिति आउने बताईएको छ ।
प्रतियोगितामा २४ कर्पोरेट टिमको सहभागिता रहनेछ । सहभागी टोलीलाई ८ समूहमा बिभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष २ टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउने छन् । खेल ५ ओभरको हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफी गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । यस्तै विजेताले अर्को वर्ष निःशुल्क प्रवेश पाउनेछ ।
उपविजेताले ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर, बेष्ट फिल्डर, बेष्ट विकेट किपरले पनि ट्रफी गिफ्ट ह्याम्पर पाउनेछन् ।