पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) टी-ट्वान्टी क्रिकेटमा सोमबार बुटवल ब्लास्टर्सले विजयी सुरुवात गर्यो ।
पोखरा रंगशालामा काठमाडौं गोल्डेन वारिवर्सलाई सुपर ओभरमा पराजित गर्दै बुटवलले सुखद सुरुवात गरेको हो ।
रोमान्चक बनेको खेलको हार जितको टुंगो सुपर ओभरबाट तय हुँदा बुटवलका नितेश थापा सबैको नजरमा थिए । किनकी फ्रेन्चाइज क्रिकेटको डेब्यु खेलमै उनले लोभ लाग्दो बलिङ गरे ।
नितेशले ३ ओभर बलिङ गरेर १७ रन खर्चिदै काठमाडौंको महत्वपूर्ण २ विकेट लिए । आफ्नो पहिलो ओभरमा नै नितेशले राष्ट्रिय टिम तथा काठमाडौं गोल्डेनका कप्तान ज्ञानेन्द्र मल्ल र आक्रामक ब्याट्सम्यान सुबोध भाटीलाई पेभेलियन फर्काएका थिए ।
खेलको १३ औं ओभरमा आफनो व्यक्तिगत पहिलो ओभर लिएर आएका नितेशले मात्र २ रन खर्चिएर महत्पूर्ण दुई विकेट लिएका थिए । जसको कारण काठमाडौंको ब्याटिङको दिशा परिवर्तन गरिदिए ।
१२ ओभर ४ बलमा ज्ञानेन्द्रलाई आउट गरेका उनले ओभरको अन्तिम बलमा सुबोधलाई पेभेलियन पठाएका थिए ।
दोस्रो ओभरमा समेत २ रन खर्चिएका नितेश तेस्रो ओभरमा भने महँगो साबित भए । १७ औं ओभरमा व्यक्तिगत तेस्रो ओभरको बलिङ गरेका नितेशलाई काठमाडौंका पवन सर्राफले एक छक्का र एक चौका हिर्काउँदा कुल १३ रन खर्चिए । नितेशले ३ ओभरमा ९ बल डट फाल्दा कुनै अतिरिक्त रन दिएनन् ।
कप्तान सोमपाल कामीले उनलाई 'डेथ ओभर' मा भने बलिङ गर्न दिएनन् । तर, १९ वर्षे युवा नितेशको लोभलाग्दो प्रदर्शनबाट टिमका सबै सदस्य खुसी थिए ।
बुटवलका टिम म्यानेजर तथा क्रिकेट विश्लेषक राजन शाहले नितेश जस्तो बाँया हाते स्पिनर नेपालमा पाउनु दुर्लभ रहेको बताउछन् । नेपाली बाँया हाते स्पिनरमा नितेशको जस्तो बल गुमाउने क्षमता अन्य खेलाडीमा भेट्टाउन मुश्किल रहेको उनको बुझाई छ ।
'नितेशको बल घुमाउने तरिकाले गर्दा उसले पिचमा अन्य खेलाडीले भन्दा धेरै टर्न पाउने गर्छ,' शाहले भने, 'नेपालमा बाँया हाते स्पिनरमा सायदै यस्तो टेक्निक देख्न सक्छौं ।'
गत संस्करणको पीपीएलमा मौका नपाए पनि उसको क्षमता देखेर नै टिमले नितेशलाई रिलिज नगरेको शाहले बताए ।
हुन त नितेश यस अघि पनि बुटवलकै टिममा रहेका थिए । तर, उनले पहिलो संस्करणमा प्लेइङ सेटमा मौका पाएका थिएनन् ।
गत संस्करणको एभरेष्ट प्रिमिएर लिग (इपीएल) मा नितेश काठमाडौं किङ्ग्स इलाभेनमा रहेका थिए तर उनले खेल्ने मौका पाएका थिएनन् ।
पीपीएलको दोस्रो संस्करणको पहिलो खेलमै मौका पाएका नितेशले आफुलाई प्रमाणित गरे ।
बुटवलका कप्तान सोमपालले नितेश मेहेनती खेलाडी र निकै क्षमतावान खेलाडी रहेको बताउछन् ।
'नितेश निकै मेहनती खेलाडी हो, मात्र मौका पाएको थिएन,' कप्तान सोमपालले भने, 'उ मैदानमा आत्मविश्वासी थिएन जस्तो लागेको थियो, तर राम्रो खेल्यो ।'
को हुन् नितेश ?
नितेश पूर्व राष्ट्रिय खेलाडी शक्ति गौचनको एकेडेमीका उत्पादन हुन् । नितेशले अहिलेसम्म कुनैपनि राष्ट्रिय स्तरको प्रतियोगिता खेलका छैनन् । काठमाडौंविरुद्धको खेलनै उनको डेब्यु फ्रेन्चाइज लिग हो ।
नितेश एक यस्ता स्पिनर हुन् जसले आफ्नो नाडीको शक्तिले बललाई गुमाउने क्षमता राख्दछन् । त्यसैले उनलाई अन्य केहि फ्रेन्चाइज टिमले समेत नजर लगाउँदै आएका थिए ।
नितेशले पीपीएललाई आफ्नो क्रिकेट करियरको कोसेढुंगाको रुपमा लिएका छन् । नितेश भन्छन्, 'यो लिगमा राम्रो गरे अन्य लिगमा मौका पाउने वातावरण बन्छ । घरेलु लिगमा राम्रो गरे राष्ट्रिय टिममा स्थान बनाउन सकिन्छ ।'
नितेशले क्रिकेट खेल्न सुरु गरेको दुई वर्ष मात्र भएको छ । विभिन्न लिगको टिममा रहे पनि उनले मैदान उत्रने मौका भएन पाएका थिएनन् । नितेशले अहिले यस प्रतियोगिता बाहेक धेरै केही सोचेका छैनन् ।
उनको प्राथमिकता अहिले टिमको लागी राम्रो खेल्दै विजेता बन्नु हो । प्रतियोगितामा राम्रो गर्न सके आगामी दिनमा अवसरको ढोका आफै खुल्ने उनको बुझाई छ ।